21 फ़रवरी 2022

वार्ता

 माझ गाउँ, मान्बु,गोरखा जिल्ला निवासी कवि चन्द्र गुरुङ प्रखर कवि तथा अनुवादको क्षेत्रमा शसक्त नाम हो । पिता कुम्ब सिंह गुरुङ र माता सेतु माया गुरुङसेनीको जेठा सुपुत्र हाल उनी लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा बहराईनमा कार्यरत छन् । अस्विकृत विचार साहित्य सम्मानबाट सम्मानित गुरुङको ‘उसको मुटुभित्र देशको नक्शा नै थिएन २०६३ र माई फादर्स फेस २०७७ दुईटा कविता संग्रहहरू प्रकाशित छन् । चन्द्र गुरुङले थुप्रै विदेशी कविताहरुको नेपाली भाषामा अनुवाद गर्दै आइरहेका छन् । प्रस्तुत छ नेपाली कविता अनुवाद र विश्व परिवेशमा नेपाली साहित्य कहाँ छ भन्ने बिषयमा केन्द्रीत रहेर प्रखर कवि तथा अनुवादक निमेष निखिलले गरेको वार्ता

वर्तमानमा आफू बाँचिरहेको परिवेश हेर्दा कहिलेकाहीँ यस्तो लाग्दैन चन्द्रजी यो साहित्य, लेखन, प्रकाशन, अनुवाद भन्नु पनि आफैलाई धोका दिने र भुलभुलैयामा राख्ने काम हो ?

लाग्छ नि, कहिलेकाहीँ मनमा यस्तो लाग्नु स्वभाविक पनि हो । जीविकोपार्जन र घरगृहस्थीमा खर्च गर्नुपर्ने समयलाई लेखनपठनमा लगाउँदै छु । यसले गृहस्थीमा पर्ने असरबाट भाग्न पाइँदैन । अचेल साहित्यिक संगठनहरू पालोको पैँचो गर्दै चलिरहेका देखिन्छन् । एकअर्कालाई पालैपालो पुरस्कार र सम्मान लिनेदिने क्रम चलिरहेकै छ । गुटबाजी र सिन्डिकेटको हालीमुहाली उस्तै छ । यस्तो दाउपेचमा नलाग्ने कवि,लेखकहरू पाखाको भ्यागूतो जस्तै बनेका छन् । यी दृश्यहरूले एकप्रकारले नैराश्यपूर्ण वातावरणको सिर्जना गर्ने रहेछ ।

तर फेरि सोच्छु ,साहित्य भौतिक उपलब्धी र सुखसुविधाको लागि मात्रै पनि त होइन, यही लेखनले गर्दा चेतनशील जीवन बाँचिरहेको छु । कुनै गलत काम गर्नुभन्दा त यही पनि धेरै राम्रो छ । कमसेकम भाषाको नजिक रहेर समाजको साक्षी बनेको छु । जीवनलाई समीपबाट अनुभव गर्दै बाँच्न पाएको छु । कल्पनाको खुल्ला आकाशमा शब्द र भाषाको पखेटा जडान गरी उडान भर्न जानेको छु ।

रोजगारी त वाध्यता नै हो नेपाली युवाको । भनिन्छ मान्छे जहाँ जान्छ ऊसँग उसको भाषा, साहित्य, संस्कृति पनि जान्छ । लामो समयदेखि बहराइन बस्दै गर्दा नेपाली साहित्यलाई त्यहाँ पुर्याउन के गर्न सकियो र के गर्न सकिएन जस्तो लाग्छ । यदाकदा विभिन्न मुलुकमा रोजगारीका क्रममा पुगेका नेपालीहरूले गाँस काटेरै भए पनि सुन्दर साहित्यिक कार्यक्रमहरू गर्दै आएका छन् । त्यसमा हालसम्म राज्यको उपस्थिति र अपेक्षाका विषयमा केही भनिदिनोस् न ?

परदेशी साहित्यानुरागीहरु लामो ड्युटीबाट मुस्किलले बचाएको समयलाई ब्यवस्थापन गरी साहित्य सृजनामा लागि पर्छन । परदेशतिर स्थापित यस्ता साहित्यिक संगठनहरुले वार्षिकरुपमा अनेक साहित्यिक कार्यक्रमहरु गर्छन् । नेपालबाट नाम चलेका साहित्यकार,पत्रकारलाई निम्त्याएर नेपाली साहित्यको विकासमा धेरै सहयोग पुर्याइरहेका छन् । प्रकाशनमा आएका नयाँ कृतिहरू झिकाएर बिक्रीवितरणमा सहयोग गर्दैछन् । तर विडम्बना विदेशमा रहेर सिर्जना गरिरहेकालाई घरदेशकाले खासै वास्ता गर्दैनन् ,उस्तै परे कवि, लेखकको दर्जा नै दिन चाहँदैनन् बस् विदेशतिरका यी साहित्यिक संगठनहरुलाई विदेश घुम्ने भर्याङ्गको रुपमा मात्रै प्रयोग गरिरहेका छन् ।

परदेशका साहित्यकारहरुको नेपालका मीडियासित सम्पर्क नभएका कारण आफ्ना सृजनालाई पत्रपत्रिकामा छपाउन असमर्थ बनेका छन् । नेपाली साहित्यको हित हेर्ने उच्च निकाय प्रज्ञाप्रतिष्ठानले पनि यसबारे कुनै नीति तयार पारेको छैन । जसका कारण नेपाल बाहिरको साहित्यले कम अवसर पाएको छ । जेजति मौका पाएका छन् त्यो सरकारभन्दा पनि लेखक वा लेखकहरुको आफ्नै समूहले पहलमा गरिरहेका छन् ।

यहाँले हालै एउटा अन्तर्वार्तामा भन्नुभएको थियो/सस्तो र कमसल साहित्यले यति धेरै हल्ला गरिरहेको छ कि सक्कली साहित्य हराउन थालेको छ । यो हाम्रोमा मात्रै हो कि विदेशतिर पनि छ चन्द्रजी ?

आधी भरिएको गाग्रीको हल्ला हाम्रोतिर अलिक धेरै नै छ । यहाँ पुराना लेखकहरूलाई सलाम नमस्ते र नयाँ पुस्तालाई हावातालको वाह वाह बढी चाहिएको छ । प्रायः साहित्यको सेवा गर्ने भनेर खोलिएका संगठनका दोषग्रस्त आँखाले असल साहित्यकारलाई देख्दैनन् । हाम्रालाई काखा र राम्रालाई पाखामा राख्ने चलनले थुप्रै असल लेखक,कवि निरुत्साहित बन्दैछन् । हामी पार्टीको भागबन्डामा पाएको पद लिने कविलेखकको पिठयूँ पछाडि विरोध त गर्छौं तर यिनैलाई बधाई तथा शुभकामना टक्रयाउनेमा सबैभन्दा अगाडि हुन्छौँ । लाग्छ कि अब हामी यस प्रवृतिको अभ्यस्त बनिसकेका छौँ ।

साहित्यकारहरू त सधैँ सत्य र न्यायका पक्षमा उभिन्छन्, सरकारका स्थायी प्रतिपक्ष हुन्छन् भन्ने मान्यता छ / नेपाली लेखकहरूका सन्दर्भमा यो कुरा कत्तिको लागु भएको देख्नुहुन्छ ? विदेशतिरको अभ्यास के पाउनुभएको छ ?

प्रसिद्ध प्यालेस्तिनी कवि महमूद दर्विसले भनेका छन् ,‘हरेक सुन्दर कविता एउटा प्रतिरोध हो ।’ भियतनाम युद्धदेखि इराक युद्धसम्म कवि, लेखकले मानवताको पक्षमा एकजुट भएर सत्ताको विरोध गर्दै आएका छन् । खासमा कवि,लेखक सरकार होइन कि गलत सरकारको स्थायी प्रतिपक्ष हुनु आवश्यक छ । लाभ र लोभमा फसेको कविले सत्तालाई सलाम गर्छ । कुनै असल कविको लेखन र सिर्जनाले सम्पूर्ण मानव जगतको हित र कल्याण सोच्छ, जुन सङ्कीर्ण सोचग्रस्त लेखकले कदापि सोच्न भ्याउँदैन । हाम्रो देशमा छेपारोलेझैँ रङ्ग फेर्ने धेरै कवि,लेखक छन् । म उनीहरूको दुबै हातमा लड्डु देख्छु ।

अनुवाद गर्नुहुन्छ त्यो पनि कविताको । के अनुवाद सहज कार्य हो ? यसलाई यदाकदा पुनस्सृजन पनि भनिन्छ / कस्तो अनुवाद वास्तवमा उत्तम अनुवाद हो ?

राम्रो कवितालाई धेरैभन्दा धेरै पाठकमाझ लानुपर्छ भन्ने सोचले अनुवाद थालेको हुँ । र, कविताको अनुवाद साँच्चै गाह्रो काम हो । अमेरिकी कवि रोबर्ट फ्रोस्टले भनेका छन् ,‘कविता त्यो हो जुन अनुवादमा हराएर जान्छ ।’ धेरैले त कविताको अनुवाद नै हुनुसक्दैन पनि भनेका छन् । तर अनुवाद नगरी कविताको एउटा भाषादेखि अर्को भाषासम्मको यात्रा सम्भव पनि छैन । यसकारण कविता निरन्तर अनुवाद भइरहनुपर्छ । म मूल कवितालाई अर्को भाषामा जस्तोको त्यस्तै लानु नै अनुवादको मुख्य उदेश्य हो भन्छु । हामीले कवितालाई अर्को भाषामा अनुवाद गर्ने हो, त्यो कवितालाई व्याख्या गर्ने होइन । हरेक कविताको एउटा भित्री लय र संरचना हुन्छ । प्रत्येक शब्द शब्दमा सौन्दर्य लुकेको हुन्छ । अनुवादकले दोस्रो भाषामा अनुवाद गर्दा त्यो कविताको सुन्दरतालाई जोगाएर राख्न सक्नुपर्छ । म कविताको मूल स्वरुप र स्वादलाई जोगाउन सक्नु नै अनुवादको सफलता मान्छु ।

म पनि यदाकदा अनुवाद गर्छु कविताको । कुनै कुनै अनुवाद गरिसकेपछि अन्तर्मनबाटै बडो आनन्द र एउटा छुट्टै खुसी को अनुभूति हुन्छ । खासगरी स्रोतभाषा को भावलाई जस्ताको तस्तै लक्ष्यभाषामा ल्याउन सक्दा अथवा भनुँ यो चाहिँ मैले गजब को अनुवाद गरेँ भन्ने अनुबोध हुँदा मलाई त्यस्तो लाग्छ । र, त्यति बेला चन्द्रजी, आफैले नयाँ कविता लेखेको जत्तिकै लाग्छ । आफ्ना अनुवाद अनुभवबारे केही बताइदिनुस् न ?

हो, मलाई पनि मूल कविताको भाव र विचारलाई जोगाउन सके गजब अनुवाद भएको जस्तो लाग्छ । प्रायः मेरो कोसिस पनि यही रहन्छ । अनुवादको अभावमा नेपाली भाषामा पढन सम्भव नभएका विदेशी उत्कृष्ट कवितालाई अनुवाद गर्दाखेरी पाठकबाट पाउने कमेन्टले निकै हौस्याउँछ । सक्दो म आफूलाई मन परेको कविताहरू मात्रै अनुवाद गर्छु । या ती कविताहरू अनुवाद गर्छु जुन मैले लेख्न नपाएकोमा मनभरि थकथकी लागिरहन्छ । मलाई मनपर्ने खालको कविताको अनुवाद गर्न पाउँदा सहज अनुभव गर्छु । थुप्रै साथीहरू आफ्ना कविता अनुवाद गरिदिनलाई अनुरोध गर्छन् तर म यसरी अनुवाद गर्दिनँ । फलस्वरुप साथीहरू रिसाउँछन् पनि ।

अलि बढी अनुवाद केन्द्रित भइयो कि क्या हो / तपाईँ सशक्त कवि पनि हुनुहुन्छ । “उसको मुटुभित्र देशको नक्सा नै थिएन” २०६४ र “माइ फादर्स फेस “अङ्ग्रेजी भाषामा नेपाल भन्दा बाहिरबाट २०७७ सालमा प्रकाशन भएको छ । अर्को सङ्ग्रहको तयारीमा हुनुहुन्छ । कविता के हो ? कविता किन लेख्नुहुन्छ ? अझ भनुँ किन लेखिनुपर्छ कविता ?

कुनै असहाय मानिसको दारुण अनुहारले हाम्रो हृदयलाई सजिलै पगाल्छ । अप्ठयारोमा परेको मानिसलाई सहयोग गर्न पाउँदा मनमा गहिरो सुखानुभूति हुन्छ । एउटा राम्रो फूलले सहजै आकर्षित गर्छ । यी सबले विशेष आत्मीय खुसी दिन्छन् । यस्तै हो कविता । केही दिएको जस्तो लाग्दैन तर धेरै थोक दिइरहेको हुन्छ ।

मानव जीवनको उत्थानमा साहित्यको महत्वपूर्ण भूमिका छ । साहित्यमा जीवनका विविध रुप र रङ्ग अभिव्यक्त भइरहेका हुन्छन् । साथै, सामाजिक मूल्य र मान्यताको स्थापनार्थ पनि साहित्यको ठूलो योगदान छ । यसरी एक असल साहित्य हामी र हाम्रो जीवनसित जोडिएको हुन्छ । कविता आफैलाई व्यक्त गर्ने माध्यम पनि हो । एउटा कविले आफ्नै जीवन अनुभव, यादगार पलहरू र व्यक्तिगत धारणाहरू कवितामार्फत प्रकट गरिरहेको हुन्छ । हामी सही अर्थमा जीवित छौँ भनेर दर्शाउनलाई पनि कविता लेखिनुपर्छ ।

लामो समय देशबाहिर बस्नुभयो । बाहिरबाट हेर्दा नेपाली साहित्य देखिन्छ कि देखिन्नँ ? कस्तो देखिन्छ ? यसलाई देखिने बनाउन कसको के भूमिका रहन्छ ?

विदेशबाट हेर्दा नेपाली साहित्य कमै देखिएको अनुभव हुन्छ । देशविदेशमा पुगेका नेपालीले साहित्यिक संगठनहरूका शाखा उपशाखा खोलेका छन् । तर यी सब गुणात्मक भन्दा पनि संख्यात्मक हिसाबले फैलिरहेका छन् । साहित्यको सेवामा एकजुट हुने लक्ष्यले देखा परेता पनि धेरै संगठनहरू राजनैतिक पार्टीका भातृ संगठनका रुपमा स्थापित छन् । निजी स्वार्थको लागि संगठनको प्रयोग हुँदै छ । यता देशमा पनि साहित्यिक संगठनहरूको अवस्था यही छ । यसरी नै चलिरहेका छन् । जुन दुःख लाग्दो कुरा हो ।

विदेशी पाठकमाझ अब्बल नेपाली सिर्जनाहरू पुग्न बाँकी नै छन् । यसमा प्रमुख भूमिका अनुवादको हुन्छ । सरकारी र निजी स्तरबाटै अनुवादकलाई सहयोग भए मात्रै यो सम्भव छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्नका लागि लेखकले राम्रो लेख्ने, अनुवादकले उत्कृष्ट साहित्यको अनुवाद गर्ने र सरकारले सहयोग गर्ने मूल मन्त्र हुनुपर्यो । नियमित काव्यपाठ, कविता प्रतियोगिता, कविता संवाद र बहसले पनि महत्वपूर्ण भूमिका निभाउन सक्छन् ।

यो अलि गाह्रो प्रश्न । पढिनै पर्ने आजका नेपाली कविहरूको नामै लिनुपर्यो भने……. !

मेरालागि जवाफ दिनलाई यो सबैभन्दा सजिलो प्रश्न हो । यसको जवाब एकदमै सहज छ । म कुनै गुटबाजी या वाद पछयाउँदै लेख्ने कवि होइन । मलाई राम्रो लाग्ने कविको नाम लिनु कुनै अप्ठयारो छैन । तर अप्ठयारो के छ भने मलाई थुप्रै अग्रज तथा युवापुस्ताका नेपाली कविका कविताहरू मनपर्छ जसबाट म केही न केही सिकिरहेकै हुन्छु । अहिले सबैको नाम लिनु यहाँ सम्भव नै छैन ।

अन्त्यमा के भन्नुहुन्छ ?

कविता मानवीय संवेदनालाई व्यक्त गर्ने माध्यम हो । यसले हामीलाई वरिपरिका घटनाहरूलाई बेग्लै दृष्टिकोणबाट हेर्न प्रेरित गर्दै सिर्जनात्मक बन्न सहयोग गर्छ । खासमा कविताले हाम्रो दृष्टिकोणलाई नै फराकिलो पारिदिन्छ । साथै, कविताले अवसरका अनेक ढोका खोलिदिन्छ, । युवा कविताप्रेमीलाई मेरो सुझाव के छ भनें थुप्रै साहित्य पढौँ अनि लेखौं । हाम्रो मन मस्तिष्कलाई अन्य गलत कामतिरभन्दा साहित्यको सिर्जनात्मक बाटोमा हिँडाऔँ । कविताको यात्रा लामो छ तर सुन्दर छ । कवितासँगको निरन्तरको सहकार्यले यो यात्राभरि सुखानुभूति भइरहन्छ ।


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

बाकी देश

On the other side, I miss the country a lot by saying as much as possible  some carried the country on their shoulders  Saying it is very di...