5 फ़रवरी 2022

पहिरो

मेरो पहिलो कृति "उसको मुटुभित्र देशको नक्सा नै थिएन"बाट एक कविता

हिजो राति
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ डाँडामाथिको गुम्बा
बगाएछ खोला–किनारको मन्दिर
बगाएछ गाउँमाझको मस्जिद ।

तर बिहान सबेरै
लामा गुरुले स्वार्थको ‘माने’ घुमाइरहेको देखेँ
पण्डित बाजेले छल–कपटको प्रसाद बाँडिरहेको भेटेँ
सुनेँ मौलवीले जातीयताको पर्खाल उभ्याएको ।
सायद
थुप्रै थुप्रै बेथितिलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

हिजो राति
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ साना–ठूला घरगोठहरू
बगाएछ गरिबका मन धान्ने हरिया खेतबारीहरू
बगाएछ असङ्ख्य चौपाया–दोपाया जीवनहरू ।
तर बिहान सबेरै
रामेको आँगनमा
घर बनाउँदा लागेको ऋण उठाउन
आइपुगेको साहूलाई भेटेँ
खेतबारीमा सपनाहरू रोपेका
किसानका आँखामा आँसु र व्यथा देखेँ ।
हर घर–आँगनमा
मात्र मृत्यु पल्टेको सुनेँ ।
सायद
थुपै्र थुपै्र बेथितिलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

हिजो राति
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ गोदाममा सुतिरहेका अन्नका बोराहरू
बगाएछ खेतमा उभिएका लहलहाउँदो बाली
बगाएछ थुप्रै लत्ता–कपडा ।
तर अझै पनि
अशान्त भोकलाई गाउँलेको पेटमा अल्झेको देख्छु
निर्वस्त्र नाङ्गोपनलाई
टाँस्सिएको भेट्छु पीडितका अङ्गमा ।

साँच्चै  
थुपै्र थुपै्र बेथितिलाई
कहाँ बगाउन सक्दो रहेछ पहिरोले !?


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

बाकी देश

On the other side, I miss the country a lot by saying as much as possible  some carried the country on their shoulders  Saying it is very di...