मेरो पहिलो कृति "उसको मुटुभित्र देशको नक्सा नै थिएन" बाट एक कविता
(लगभग एघारह वर्षअघि लेखेको एक पुरानो कविता । यो कविता सेप्टम्बर १, २००४ को दिन इराकमा मारिएका १२ जना नेपालीमा समर्पित छ ।)
जूनकीरीझैँ
रातहरूको गहिराइमा उज्यालो खोज्दै
जीवनरूपी टुकीको वरपर उडिरहेँ ।
धेरै पटक मृत्युसँग जम्काभेट भो
र धेरै पटक जिउँदै मरेँ
कहिले टुकीको रापमा जलेँ
कहिले टुकीमा ठोेकिएर घाइते भएँ
कहिले भुइँमा खसेर आहत भएँ
तर जीवनको मोहमा
जिउँदो लास भएर हिँडिनै रहँें
तर यस पटक बेग्लै भो
यस पटक
म, मृत्युको अन्तिम यात्रामा निस्केको छु ।
बेरोजगारीको समुद्रमन्थनबाट
निस्केको विषलाई पिउँदा
नीलकण्ठ भई बाँचेकै थिएँ
समाजको अधर्मी हिरण्यकश्यपुहरूले
अभावको गहिरो खाडलमा गाड्दा,
महङ्गीको अग्लो भीरबाट लडाउँदा,
भोक–भोकै पेट सुकाइदिँदा
र शरीरको सारा रगत चुस्दा
मृत्युको पञ्जाबाट प्रहलादझैँ फुत्केर बाँचेको नै थिएँ
तर यस पटक बेग्लै भो
यस पटक
म, मृत्युको अन्तिम यात्रामा निस्केको छु ।
अब,
बा–आमाका अर्थी
र बहिनीको डोलीले मलाई नपर्खिनू
प्रिय !
तिमीले पनि मेरो बाटो नकुर्नू
अब तिमीहरूको छातीमा
कुनै “परमवीर चक्र” र “भिक्टोरिया क्रस” होइनन्
मेरा विगतका यादहरू
तक्मा भएर झुन्डिने छन् ।
सोचेको थिएँ–
नसके जीवनभरि
मृत्युपछि मेरो खरानीले
देशको शरीरमा अलिकति माटो थपौँला
यो जीवनलाई सफल पारौँला
तर यो इच्छा मेरो छातीभित्रै थुनिएर
विदेशी धरतीमा नै दफन हुने भो
यस पटक
म मृत्युको अन्तिम यात्रामा निस्केको छु ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें