5 फ़रवरी 2022

 मेरो पहिलो कवितासङ्ग्रह “उसको मुटुभित्र देशको नक्सा नै थिएन” बाट दुई कविताहरू ।



1.    पोस्टमार्टम रिपोर्ट


यो लास
त्यही मान्छेको हो–
प्रत्येक तोडफोडमा
जो बोक्दै विदेशी भाला र तरबार
खोज्थ्यो आफ्नै दाजु–भाइका स्वदेशी टाउकाहरू
हिँड्थ्यो जसका प्रतिगमनकारी खुट्टाहरू
–कुनै निरङ्कुश शासकलाई अग्रगमनकारी भन्दै
–विष्णुको विशुद्घ अवतार मान्दै
दरबाररूपी जीर्ण मन्दिरमा पुनःस्थापित गर्न ।
       
यो लास
त्यही मान्छेको हो–
‘‘नेपाल बन्द’’को मौका छोपेर
जो आफ्नै देशलाई
सडकहरूमा टायर बनाएर बाल्थ्यो
मितेरी पुलहरू भत्काएर
थुप्रै छिमेकी गाउँहरूलाई अलग पाथ्र्यो
–तोडेर टेलिफोनका निर्दोष टावर
–फोडेर बिजुलीका उज्याला स्टेशन
सुनसान बनाउँथ्यो असङ्ख्य टोलबस्तीहरू ।

यो लास
त्यही मान्छेको हो–
जो काटमारहरूमा उत्साहपूर्वक सामेल हुन्थ्यो
चोरी–डकैतीहरू त
उसको लागि सामान्य दैनिकी बन्थ्यो ।

तर दुर्भाग्य
ऊ मारिएछ यसपालिको हूलदङ्गामा ।

आज
उसको लासलाई चिरफार गरेर
डाक्टरहरूले तयार पारे एउटा पोस्टमार्टम रिपोर्ट
कि –
“उसको मुटुभित्र देशको नक्सा नै थिएन ।”


2.     हिमाल, पहाड र तराई


असङ्ख्य तेन्जिङ र हिलारीका आक्रमणले
घाईते बनेका हिमालहरू
हरक्षण
झार्छन् हिउँको चिसो आँसु ।

कुनै आर्मी अफिसरको आदेश बमोजिम
सजिएर ‘कम्ब्याट ड्रेस’मा 
पर्खंदै अर्को आदेश
उभिन्छन् चुपचाप सिपाही पहाडहरू ।

बाढीको तेजधार ब्लेडले
सम्पूर्ण कपाल खौरिएको तराई
बस्छ मौन–मौन
ताप्दै जाडो याममा गरिबीको आगो ।


Title of the book: "Usko Mutubhitra Deshko Nakshanai Thiyena"

Author: Chandra Gurung (Manbu-6, Gorkha)
Genre: Collection of 33 Poems
Computer Work: Basanta Raj Agyat (Khotang)
Publisher: Laxmi Rai (Nerpa,Khotang) for Adiwaashi Geetkaar Samaj.
Cover Art: Vivek Mukarung (Bhojpur)
Printed @ : Om Shiva Shakti Printing Press
First Edition: Magh 2064

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

बाकी देश

On the other side, I miss the country a lot by saying as much as possible  some carried the country on their shoulders  Saying it is very di...